Total Pageviews

26 September, 2026

बन्दी र चन्द्रागिरि



सायद यो खुसीको प्रफुल्लित क्षण

दिनप्रतिदिन गिरफ्तार भएर

हराइरहेका आफन्तहरूको उदास स्मृतिजस्तै

भोलि विस्मृतिको धूमिल बिम्ब पनि हुन सक्छ

विजयको अन्तिम दिनसम्म

सबै रहौँला नरहौँला पछि हामी

र सायद यो खुसीको हर्षित क्षण

हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ

र म पनि रहिनँ भने

यस काव्यको अन्तिम अध्याय पनि

लेखिँदालेखिँदै

भोलि अपूर्ण रहन सक्छ

......

(बन्दी र चन्द्रागिरि, पृष्ठ ५३÷५४)

कवि कृष्ण सेन ‘इच्छुक’का माथिका पँक्तिहरू यथेष्ट छन् तत्कालीन समयको चित्रणका लागि । यस्तै महासमरमा जन्मिएका कवि थिए ‘इच्छुक’ । आखिर उनले लेखेजस्तै भयो । कविता र समाचार लेख्दालेख्दै तत्कालीन शाही सेनाले उनको क्रूरतापूर्वक हत्या गरेरै छाड्यो । 

त्यसो त लेखक तथा कलाकारहरू कुनै भूगोलमा सिमित रहँदैनन् । कृष्ण सेन ‘इच्छुक’को जन्म उनका पिताको जागीरको सिलसिलामा भारतको देहरादूनमा भएतापनि उहाँहरूको परिवारले अर्घाखाँची जिल्ला साविकको जलुके गाविसमा बसोबास गरेको थियो ।

उनी पत्रकार थिए । राजकीय सत्तासँग कहिल्यै झुकेनन् । न त कुनै सम्झौता नै गरे । उनी कवि थिए, सर्वहारा जनताको सुस्केरा नै उनका कविताका बिम्ब थिए । जस्तो,

बाँसका तामा झैँ कलिला तनहरूले

किन विद्रोहको बन्दुक बोके ?

यौवनको दोसाँधमा उभिएका

नौजवान तरुण मनहरूले

किन विलासको रसरङ्ग छाडेर

आक्रोशको बारुद बोके ?

(पृष्ठ ३९)

बन्दी र चन्द्रागिरि ‘इच्छुक’का लामा कविताहरूको सङ्कलन हो । जम्माजम्मी ५५ पृष्ठमा अटाएका यी कविताहरू विषय गाम्भीर्यताका दृष्टिले अत्यन्तै ठूला छन् । यस सङ्ग्रहमा चन्द्रागिरि म तिमीलाई हेरिरहने गर्छु, मेरो छातीभित्र मुटुमा छ मेरो देश, हाँडीगाउँको जात्रा सधैं जात्रा रहने छैन, अटल छ मेरो आस्थाको सगरमाथा, मन देश–देशान्तर घुमिरहन्छ, तिम्रो छातीभित्र एउटा रातो गुलाफ रोप्नू, सम्झनामा नाचिरहेकाहरूको सम्झना, ए सिन्धुलीकी महान आमा र जारी रहने छ हाम्रो संकल्पको यात्रा शीर्षकका ९ ओटा कविता समेटिएका छन् । 

                                 कृष्ण सेन ‘इच्छुक’


भद्र बन्दीगृहमा छँदा लेखिएका यी कविताहरू ‘इच्छुक’ले सिराहा कारागारबाट बाहिर ल्याएका थिए । सङ्ग्रहमा कविका समकालीन र सहयात्री ऋषिराज बरालले ‘सेनजी ! अस्त्रोवस्कीका ‘सपनाहरू’ नभुल्नोस् है’ भन्ने शीर्षक दिएर ५ पृष्ठ लामो भूमिका लेखेका छन् जहाँ उनको भावविह्वल मन छताछुल्ल पोखिएको आभास हुन्छ ।

***

कविता कृति : बन्दी र चन्द्रागिरि 

कवि : कृष्ण सेन ‘इच्छुक’ 

प्रकाशन वर्ष : २०५७ भाद्र (पहिलो सँस्करण)  


‘छिनोफानो’ सवाई कवितासङ्ग्रह




बूँद राना नेपाली साहित्यिक क्षेत्रमा चिनाइरहनुपर्ने नाम हैन । अर्घाखाँचीको कुर गाउँमा जन्मिएका राना हाल रुपन्देहीको भैरहवामा बसोबास गर्छन् । यसअघि उनका रातो मलाई प्यारो, चल्दैछ जिन्दगी, पुष्टकारी, अब किन मान्थिन्, खै गुजी, तिलमालिङ्गम लगायतका कविता र गजलका सङ्ग्रहहरू प्रकाशित भएका छन् ।

बूँद राना

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बनेर नेपाली वाङ्मयको विकासमा इँटा थप्ने काम गरेका रानाको “सेती हो जिन्दगी  काली हो जिन्दगी, बग्न नजाने गन्दा नाली हो जिन्दगी” मतला रहेको गजल अत्यन्तै लोकप्रिय छ । 

छिनोफानो कवितासङ्ग्रहको पछिल्लो गातामा छापिएको कविको एक टुक्रा रचना यस्तो छ :


***

कृति : छिनोफानो (सवाई कवितासङ्ग्रह)

कवि : बूँद राना

प्रकाशक : सोनू गुरुङ 


‘ललिता’ खण्डकाव्य

‘ललिता’ विष्णुप्रसाद बस्यालकृत खण्डकाव्यको नाम हो । अर्घाखाँची जिल्लाको तत्कालीन सन्धिखर्क गाविसको तुम्कोट गाउँमा स्थायी ठेगाना (कृतिका अनुसार) भएका कविको यो कृति उत्तरकुमार पराजुलीले प्रकाशनमा ल्याएका हुन् । प्रकाशकको तर्फबाट आफ्नो भनाइ राख्दै पराजुलीले लेखेका छन्, ‘काव्य यात्रालाई (म) अनन्तको यात्रा ठान्दछु ।’ 

कृतिमा कवि बस्यालले अत्यन्तै मर्मस्पर्शी श्लोकहरूको निर्माण गरेका छन् । एउटी अनाथ किशोरीको कथा बुनिएको यो खण्डकाव्य पढिरहँदा पाठकको मन अवश्यै भिज्नेछ । जस्तो, दुनियाको चलन बनेको यो नमिठो सत्य–

प्रायः नहुने खुट्टा हिँड्छ

बलिष्ठ गोडा गाडी चढ्छ

कोही अमृत थुकिरहन्छ

बिचरा भोको टुलुटुलु हेर्छ

(पृष्ठ ७)


त्यसैगरि यो काव्याँशले घरबाट टाढा हुनेहरूको मर्मलाई पक्कै पनि छुनेछ–

घरतिर मेरा बनपाखाले

खोज्दा हुनन् भरी ममताले

आई ललिता भन्दै जाँदा

कति खुसी हुन्थे नजिकै हुँदा

(पृष्ठ २८)


बाबा, आमा, गाउँघर सबैबाट विछोडिएकी ललिता सयौं मानिसहरूको छिछि र दूरदूरको व्यवहार खप्न बाध्य हुन्छे । उसको मुखबाट भनाइएको यो शब्दले मानिसको चरित्र चित्रण राम्ररी गरेको छ–

मानवमा अब दानवता छ

पशुमा बरु नियम पालन छ

पशुका पति रक्षक भै दिनुले

गति यो हुन गो कि कतै भूलले ?

(पृष्ठ ४३)

***


कृति : ललिता (खण्डकाव्य)

कवि : विष्णुप्रसाद बस्याल

प्रकाशन मिति : वि. स. २०५८ 

०


अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना र विकास



‘अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना र विकास’ बुद्धि बहादुर रायमाझीले लेखेका हुन् । सन्धिखर्कको साबिक वडा नम्बर ८ मा जन्मिएका लेखक रायमाझी बर्रे संघर्ष (काण्ड)का एक पात्र पनि हुन् । त्यो घटना जसलाई नेपालको कम्युनिष्ट इतिहासमा बर्रे संघर्षको नामले चिनिएको छ भने विरोधी पार्टीहरूले चाहिँ त्यो कुनै संघर्ष नभै डकैती काण्ड थियो भन्ने गरेका छन् । जे भएपनि पञ्चायती शासनको अन्धकार कालमा गरिएको त्यो कामले सिंगो देश नै तरङ्गित बनेको थियो । त्यो कारवाहीमा संलग्न रायमाझीलगायत अन्य १३ जना युवकहरू प्रशासनबाट समातिएर जेल जानुपरेको वर्णन यो पुस्तकमा लेखकले गरेका छन् । लेखक स्वयम् पनि १३ वर्ष लामो कारावास भोगेर फर्किएका हुन् । 

इतिहासमा लेखिएको बर्रे घटनाका बारेमा बुझ्नका लागि यो पुस्तक निश्चय नै सहयोगी बन्ने छ । यतिमात्र नभै यो पुस्तक अर्घाखाँची जिल्लामा कम्युनिष्ट पार्टीको स्थापना र विकासका बारेमा २०१६ देखि २०७० सम्मको विभिन्न घटनाक्रमलाई पनि समावेश गरिएका कारण पठनीय र सङ्ग्रहणीय बनेको छ । इतिहास अन्वेषक, विद्यार्थी, शोधकर्ता र सामान्य पाठकलाई पनि यो कृतिले अवश्यै धेरै कुरा बुझ्न सहायता गर्नेछ ।

***

किताब : अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना र विकास

लेखक : बुद्धि बहादुर रायमाझी

प्रकाशन मिति : वि. स. २०७१ असार

०


रापतीका चिराहरू


देउखुरी उपत्यकाबाट देखिएकाे रापती नदी ।

फोटो : जेबी दर्लामी 






 

25 September, 2026

बमकुमारी बुढा मगर (संक्षिप्त जीवनवृत्त)




रोल्पा जिल्लाबाट एसएलसी पास गर्ने पहिलो महिला हुन् बमकुमारी बुढा मगर । स्नातक तह उत्तीर्ण गर्ने पनि पहिलो रोल्पाली महिला हुन् उनी । २०३० सालमा दाङ जिल्लाको पद्मोदय पब्लिक बहुउद्देश्यीय माध्यमिक विद्यालयबाट उनले एसएलसी गरेकी हुन् ।

पारिवारिक दबाव, सामाजिक बन्धन, सांस्कृतिक अवहेलना र लैंगिक विभेद यी सारा बाधा अड्चनलाई पन्छाउँदै उनले कायम गरेको इतिहास अत्यन्तै अनुकरणीय छ । बमकुमारी बुढा मगरको नाम सिंगो मगर समुदायले आदरका साथ लिने गर्दछ ।

गाउँमा राम्रो विद्यालय थिएन । उनकी आमा गाउँ पञ्चायतको वडा सदस्य थिइन् । आमाको ठूलो प्रेरणा थियो पढ्नुपर्छ भन्ने । आफू धेरै पढेलेखेको नभए पनि छोरीलाई पढाउनुपर्छ भन्ने चेतना आफ्नो आमामा थियो भन्छिन् बमकुमारी बुढा मगर ।

त्यही प्रेरणाले उनलाई लेखन पठनमा सधैं अगाडि बढ्न सहयोग गरिरह्यो । अन्ततः २०७९ सालमा उनले ७२ वर्षको उमेरमा स्नातकोत्तर पढाइ पूरा गरिन् र अध्ययन भन्ने कुरालाई उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण बनिन् । यसरी आफ्नी आमाबाट प्रेरणा लिएकी उनी आफै पनि धेरैका लागि प्रेरणाको स्रोत बनिन् ।

एसएलसीपछि उनी आफ्नो गृहजिल्ला रोल्पा फर्किन् र तालाबाङ, लिबाङ र बुढागाउँ लगायतका ठाउँमा अध्यापनमा लागिन् । तर, अध्ययनप्रतिको आफ्नो पनि भोकले तृप्त हुन पाएको थिएन । त्यही कारण उनी २०३४ सालमा आईए अध्ययनका लागि नेपालगञ्ज गइन् । त्यहाँ अध्ययनरत रहेकै समयमा उनलाई २०३८ सालमा राष्ट्रिय पञ्चायतको सदस्य बन्ने मौका प्राप्त भयो । उनको विलक्षणतालाई देखेरै तत्कालीन राजा वीरेन्द्रले उनलाई रा.प. सदस्य बनाएका थिए । त्यो बेला राष्ट्रिय पञ्चायत सदस्यले खर्च गर्नेगरी ३ लाख रुपैयाँ पाउने व्यवस्था थियो । आफूले पाएको पैसा उनले रेउघामा १५ ओटा बेडको अस्पताल निर्माणमा खर्च गरेकी थिइन् ।

२०४३ सालमा पनि राष्ट्रिय पञ्चायतका लागि चुनाव घोषणा भयो । रोल्पाबाट उनले उम्मेदवारी दिइन् । तर, पार्टीले पुरुष उम्मेदवारलाई आधिकारिकता दियो । चुनाव हुनुभन्दा केही दिनअघि मात्रै उनको घर छेउमै बम पड्कियो । २०४३ वैशाख १८ गतेको घटना थियो यो । त्यसको भोलिपल्ट प्रशासनले हार्ने अवस्था आएपछि आफैले बम पड्काएको भन्ने आरोपसहित उनलाई पक्राउ ग¥यो र विध्वंशकारी ऐनअन्तर्गत मुद्दा चलायो । निर्वाचनको एक दिनपछि न्यायाधीश पृथ्वीसिंहको एकल इजलासले उनलाई सफाई दियो । बमकुमारी बुढाको दाबीअनुसार उनको पक्षमा १७,२०१ र अर्का उम्मेदवारको पक्षमा १७,१२५ मत परेको थियो । तर, उनलाई हारेको घोषणा गरियो । उनलाई त्यसरी हराउन पञ्चायतकै मान्छेहरू लागेको उनी बताउँछिन् । यो घटना भएको पनि आज धेरै समय बितिसकेको छ । आजपर्यन्त औपचारिक रुपमा उनले आफ्नो हार स्वीकार गरेकी छैनन् ।

२०४५ सालमा मरिचमान सिंह प्रधानमन्त्री हुँदा पूर्व राष्ट्रिय पञ्चायत सदस्यहरूलाई राज्यले भत्ता दिने घोषणा ग¥यो । तर, बमकुमारी बुढामगरले भत्ता अस्वीकार गरिन् । आफूले चुनाव जितेका कारण आफू पूर्व नभएको उनको दलिल रहिरह्यो । आफ्नो अडानमा उनी आज पनि कायम छिन् ।

पञ्चायतकै नेतृ भएर पनि उनी पञ्चायतसितै सदैव संघर्ष गरिरहिन् । राजनीति र समाजसेवामा लागिरहँदा उनको जीवनको एक पाटो खाली रह्यो । उनी आजीवन अविवाहित रहिन् ।

समयान्तरमा बमकुमारीले सक्रिय राजनीति छाडिन् र विशुद्ध सामाजिक काममा आफूलाई समर्पित गराइन् । २०५२ सालमा स्नातक तह उत्तीर्ण गर्ने उनी रोल्पा जिल्लाकै पहिलो महिला बनिन् ।

उनी अठाह्र मगरात मगर प्रतिष्ठानको अध्यक्ष भइन् । मगर (खाम) मातृभाषाको औपचारिक पठनपाठनका लागि १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक उनैले लेखिन् । 

२०५४ सालमा स्थापित नेपाल मगर महिला संघ, केन्द्रीय समितिको संस्थापक अध्यक्ष पनि हुन् उनी । सांस्कृतिक अध्ययन अनुसन्धानमा अझै पनि उनी सक्रियतापूर्वक लागिरहेकी छिन् ।

नेपालमा संघीयता, समता, समानताजस्ता विषयमा बहस भइरहेका छन् । यी सबै मगर समुदायले विभिन्न प्रथामार्फत् शदीयौँदेखि चलाउँदै आएका सामाजिक अभ्यास हुन् भनेर विभिन्न माध्यममा पैरवी, लेखन र प्रकाशन गरिरहेकी उनले बाधा अड्चनलाई पन्छाउँदै सामुदायिक उत्थानको बाटोमा आफूलाई पूरै समर्पित गरेकी छिन् ।

उनको यही समर्पणको मूल्याङ्कन गरी संविधान दिवस २०७९ को अवसरमा नेपाल सरकारले उनलाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिसकेको छ ।

०

जेबी दर्लामीको सम्पादनमा ४५ जना विभिन्न कीर्तिमानी मगर महिलाको संक्षिप्त परिचय समेटिएको पुस्तक ‘मगरातका छोरीहरू’ बाट साभार । 


19 September, 2026

भ्रम– २

जेबी दर्लामी




जुन दिन तिमी अदेख भयौ

जुन बाटो भएर तिमी

हात हल्लाउँदै हल्लाउँदै गयौ


त्यही दिनदेखि मलाई

यस्तो लाग्न थालेको छ,

समय यतै कतै रोकिएको छ

बाटो भने हल्लिँदै हिँडिरहेको छ ।

@Butwal



29 June, 2026

मन रोएको एक यात्रा : बुटवलदेखि सिमरा




जेबी दर्लामी

एक अवसर प्राप्त भयो यात्रा गर्ने । हरेक यात्रा मलाई थप अवसरजस्तै लाग्छन् । यात्रामा धेरै कुरा सिक्न सकिन्छ । नयाँ साथीहरुसँग चिनापरिचय हुन सकिन्छ । नयाँ ठाउँहरु देख्न पाइन्छ । नयाँ चालचलन र परम्पराहरुसँग साक्षात्कार पनि हुन पाइन्छ । तसर्थ मलाई यात्रा गर्न बेस्सरी मन लाग्छ । यात्रा गर्ने बहाना खोजिरहन मन लाग्छ ।

२०८३ असार १२ गते । यस्तै एउटा यात्रा जुरेको थियो बारा जिल्लाको सिमरासम्मको । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तीन दिने कार्यक्रममा मधेश र लुम्बिनी प्रदेश समितिलाई एकै ठाउँमा भेट हुने संयोगको संयोजन केन्द्रीय समितिले गरेको थियो । सहभागी हुनेमा लुम्बिनी (मगरात) प्रदेश समितिको उपाध्यक्षको हैसियतमा मेरो नाम पनि पठाइएको रहेछ र यसरी आउन पाएको थिएँ । 

प्रदेश अध्यक्ष लगायतका साथीहरु दाङबाट आउँदै थिए, स्कार्पियो रिजर्व गरेर । त्यसैमा बुटवलबाट केन्द्रीय सचिव मिलन गाहा र मलाई पनि राख्नेगरि उनीहरु आउँदै थिए । खोइ, कसको योजना या सल्लाहले हो, सिमरा पुग्न नयाँ बाटो जाने निर्णय भएछ । सुस्ता त्रिवेणीबाट भारत पस्ने र भारतको सडकमार्ग हुँदै वीरगञ्ज निस्कने । त्यही सल्लाहअनुसार हामीलाई भैरहवा बोलाइयो । मिलनजी र म त्यहाँ गएर उक्त समूहमा सामेल भयौँ ।  

गाडी भैरहवादेखि हुलाकी मार्ग हुँदै पूर्व लाग्यो । गोपीगञ्ज आइपुगेर हामी बर्दघाटतिर उक्लेनौँ । नेपालको सडकमार्ग भएर बर्दघाट, दाउन्ने, आरुङखोला, चोरमारा, डण्डा, कावासोती, थुम्सी, गैंडाकोट, भरतपुर (चितवन), हेटौँडा, पथलैया हुँदै सिमरा पुगिने थियो । तर हामीले रोजेका थियौँ भारतको बाटो । नयाँ ठाउँ भएर यात्रा गर्नुको रोमाञ्चक कल्पना एउटा थियो । त्योभन्दा बढी हामी कार्यक्रममा पुग्न यसै ढिला भइसकेका थियौँ र हामीलाई सुनाइएको थियो, भारतको बाटो भएर आउँदा करिब दुई घण्टा छिटो आइपुगिन्छ । एकसय किलोमिटरकै फरक पर्ने समेत भनिएको थियो । मलाई भने नयाँ बाटो भएर जाँदा कति ठाउँमा अलमल परिने पक्का छ भन्ने लागेको थियो । साथीहरुलाई यो कुरा भनेको पनि थिएँ । नभन्दै त्यस्तै भयो । गण्डक ब्यारेजको वारि नेपालतर्फ माछाभात खाएर पारि भारततर्फ पुग्नासाथै हामीलाई यो कुराको आभास भइसकेको थियो । त्यहाँ हामीलाई रोकेर गाडी र चालकको नाम दर्ता गर्न मात्र भनिएन, हाम्रा झोला गाडीबाट निकालेर मेशिनमै राखेर स्क्यानसम्म गरियो । स्थलमार्ग भएर भारत प्रवेश गर्दा यो प्रकारको अनुभव मैले जीवनमै पहिलोपटक गरेको थिएँ । नेपालीलाई सीमामा अतिरिक्त चेकजाँच गर्ने मानौं माथिको आदेश ती सुरक्षाकर्मीहरुले पालना गरिरहेका थिए जस्तो लाग्यो । अनि मेरो मनमा केही महिनाअघि नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संसदमा उभिएर भनेका कुरा झल्याँस्स सम्झना भयो । ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको छ’, हो यही भनेका थिए हाम्रा प्रधानमन्त्रीले । सम्पूर्ण युद्धसामग्रीसहित अर्को देशको सेनाले कुनै देशको भूभाग कब्जा गरेर बस्नु र दशगजामा दुवैतिरका बासिन्दाले एकअर्काको देशको जमिनमा भैंसी प्रवेश गराउनुबीचको भिन्नता मात्रै पनि हाम्रा प्रधानमन्त्रीले बुझेका भए त्यसरी बोल्ने सायद थिएनन् होला, त्यो पनि देशको सर्वोच्च कार्यकारी स्थानबाट । उनले त्यसरी बोलेकोमा गल्ती स्वीकार गर्ने कष्ट पनि गरेनन् तर, त्यो बोलीका कारण नेपाली जनताले झेल्नुपरेको र अझै झेल्नुपर्ने देखिएको कष्ट भने असाध्यै पीडादायी र डरलाग्दो छ । उनको त्यही बोलीकै बलमा निकै लामो समयपछि भारतीय सेना सुस्तामा पस्यो हतियारसहित । ती घुसपैठियाहरुको प्रतिकार गर्न नेपालको सरकार र त्यस मातहतका निकायहरु निकम्मा सावित भइदिए । परचक्रीले भिरेको हतियारको समेत डर नमानी मैदानमा उत्रिए स्थानीय जनता । हो त, आजसम्म सुस्ताको भूमि बचाइराखेका त्यहीँका जनताले हुन् । सलाम गर्छु म, सुस्ताका ती नेपाली जनतालाई । 

हाम्रा प्रधानमन्त्रीको त्यस वचनपछि सुस्तामा मात्रै होइन, देशका विभिन्न स्थानमा भारतीय एसएसबी प्रवेश गरेको खबर स्थानीय जनताबाट सुन्दै आइएको छ । कति ठाउँमा रातारात सीमा मिचेर पुल बनाइएका घटना पनि सुन्न पाइएको छ । भारत सरकार, त्यहाँका कूटनीतिज्ञहरु, कर्मचारी, सुरक्षा बल र आम भारतीय जनताको समेत नेपाल र नेपालीलाई हेर्ने नजरमा हेयको मात्रा बढिरहेको प्रत्यक्ष अनुभूति गर्न परिरहेको यथार्थ कसैले लुकाउन सक्तैन होला । 

नारायणी (भारतले भन्ने गण्डक) नदीको पुल तरेर हामी भारतको बिहार प्रान्तमा प्रवेश गरेका थियौँ । सीमा बजारको नाम वाल्मिकी नगर रहेछ । स्कार्पियोभित्र हामी नौजना थियौँ । चेकपोइन्टमा हाम्रा झोला गाडीबाट निकालेर स्क्यान गरिएको थियो । तत्पश्चात् चालकलाई धेरैबेर त्यहाँ अल्मल्याइयो । उनलाई अनेक अनावश्यक प्रश्न सोधेर हैरान पारियो । उनको बाउआमाको नामसम्म सोधियो । पुल तरिनसक्दै मन अमिलो भइसकेको थियो । पुलदेखि तल्लो भेगमा नदी लगभग सुकेकोजस्तो देखिन्थ्यो । पानी सबै पुलनिरै थुनेर भारततर्फको नहरमा खसालिएको थियो । अलि वर आउँदा त्यो नहर पश्चिम, दक्षिण र पूर्व दिशातर्फ बिहारको भूमिमा सिंचाई पु¥याउन पानीले डम्मै भरिएर बगेको थियो । हामी पूर्वतर्फ बगेको नहरको छेउ भएर गुडेका थियौँ । 

त्रिवेणीबाट भारतको बिहार प्रदेश भएर वीरगञ्ज पुग्न नेपालको बाटोभन्दा धेरै छिटो हुने भनेर कसैले भनेको भरमा हामीले यत्रो चुनौती हातमा लिएका थियौँ । सुरुमै भारतीय सुरक्षाकर्मीहरुबाट पाएको अतिरिक्त चेकजाँचको हेपाहापूर्ण व्यवहारले मन खिन्न भइसकेको थियो । झन्पछि झन् नेपाली सिमले काम गर्न छाड्यो । न कसैलाई फोन गर्न सकियो न त नेट चलाएर म्याप हेर्दै हिँड्न नै सकियो । हामी त अचानक कुहिरोको काग बन्यौँ । नहरको छेउ भएर सानो सडक बनेको रहेछ । पूरा गियरमा लगातार गाडी हाँक्न सक्ने अवस्था थिएन । पछाडि फर्कौं, धेरै पर पुगिसकिएको छ । अगाडि बढौँ, अब अझै कति अगाडि बढ्नुपर्छ भन्ने नै थाहा छैन । कुनै अनिश्चयको यात्रामा हामी यसरी होमिएका थियौँ । 

एक ठाउँमा गाडी रोकेर एक बिहारी युवकसित हामीले सोधेका थियौँ, ‘यो सडकमार्ग भएर वीरगञ्ज पुगिन्छ कि पुगिन्न ?’ भनेर । उसले बताएको थियो, ‘वीरगञ्ज होइन इनरवा पुग्छ यो सडक । त्यहीँबाट नेपाल प्रवेश गर्न सकिन्छ ।’ हामी उसको कुरामाथि विश्वास गरेर अगाडि बढिरह्यौँ । अविश्वास गर्ने पनि विकल्प कतै बाँकी रहेको थिएन । 

स्कार्पियोले गति लिइरह्यो । कहीँ कतै चार र पाँच गियरमा कुद्यो । धेरै ठाउँमा त तीन गियर नै पर्याप्त भयो उसलाई । भारत छिर्ने समयमा दिनको ठिक एक बजेको थियो । त्यो दोपहरको प्रचण्ड घाममा गाडीभित्रको वातानुकूलित प्रणालीले काम गर्न छाडेपछि हामीले त्यसका सबै झ्याल खोलेर बाहिरको हावा खाएका थियौँ । बल्ल राहत पाएको थियो ज्यानले । मनको उकुसमुकुस भने बाँकी नै थियो । 

हामी गुडिरहेको सडक छेउ भएर यत्रो ठूलो नहर बेगवान् थियो । ठाउँ–ठाउँमा उत्तरतर्फ बिजुली मोटर जोडेर त्यो नहरको पानी खेतसम्म पु¥याइएको थियो । दक्षिणी भेगका खेतहरुमा भने नहरमै ढोका बनाएर पानी पठाइएको थियो । नहरको दुवैतिर खेतमा हरियाली व्याप्त थियो । मकै लगायत विभिन्न खेतीपाती राम्ररी सप्रेका देखिन्थे । कहीँ स–साना बजार आए । धेरैजसो गाउँ नै देखा परे । बजार पनि फोहोरको कारखाना भन्न मिल्ने । यत्रतत्र फोहोर मात्रै । गाउँ त गाउँ नै भइहाल्यो । 

हामी कहाँ छौँ ? गाडी कहाँनिरबाट गुडिरहेको छ ? कसैलाई थाहा थिएन । नौ जनाकै मुखमा एउटै ठाउँको नाम घरिघरि आइरहेथ्यो, इनरवा । कसैले इनरुवा भन्यौँ, कसैले इनवारु । वास्तविक नाम मुखाग्र गराउन निकै नै बल लगाउनुपरेको थियो । 

पटक–पटक फोनको डाटा खोलेर हेरेँ । अहँ, नेटवर्कको त कुनै नामनिशाना थिएन । धेरैबेर गुडिसकेपछि बल्ल फोनमा प्राण पसेजस्तो भयो । गूगल म्याप खोलेर हेर्दा हामी नेपालको माडी र ठोरीको ठिक मुनि भारतीय भूभागमा थियौँ । यहाँबाट नेपालको सीमा केही नजिक पर्दोरहेछ र नेपाल टेलिकमको नेटवर्कले थोरै काम गरेको रहेछ । इनरवा पुग्न भने त्यहाँबाट अझ धेरै टाढा थियो । केही छिनपछि टेलिफोनमा डाटाको शक्ति हराउन थाल्यो । यो मन फेरि डराउन थाल्यो । 

इनरवा आइपुग्दा मनै भरङ्ग भयो । हाम्रो देब्रे छेउबाट बगिरहेको नदीजस्तो नहर अचानक बेपत्ता भएको थियो । म पनि गाडीमा देब्रेतिरकै झ्यालमा बसेको थिएँ । त्यसैले त्यो आँखा बिझाउने दृश्य हेर्दिनँ भनेपनि हेर्नुप¥यो । नहरको संरचना उस्तै छ, उत्रै छ तर, पानी एक थोपा पनि छैन । अझ सीमामा भारतीय सुरक्षाकर्मीले थप तर्साए । हामीलाई ‘जुन बाटो आएको हो त्यही बाटो फर्केर नेपाल जाऊ’ भनियो । साथीहरुले टुटेफुटेको हिन्दीमा कुरा गरेर यो समस्यालाई सुल्झाए । हामी अन्ततः नेपाल प्रवेश ग¥यौँ । 

शरिरको दुःख केही कम भएको थियो । आफ्नो देशमा आइसकेको हुँदा शरिरको थकान केही होइनजस्तो लाग्न थालेको थियो तर, छेउमा देखा परिरहेको सुखा नहरले भत्भती मन पोलिरह्यो । सीमापारि हरियाली खेतबारी यता भने फुस्रो धुलो उडिरहेको थियो । छिमेकीसँग त्यसै कहाँ रिस उठ्छ र हामीलाई ? हामी त्यस्तो मूर्ख पनि कहाँ छौँ र नचाहिने कुरामा रिसाइहाल्नलाई ? 

यसपटकको यात्रा यस्तै भयो । करिब चार घण्टाको बाटोभरि यो मन अमिलो र आँखा पिरो भइरह्यो । जब आफ्नो मात्रै भलो चाहने छिमेकी पर्छ, व्यक्ति होस् या देश– त्यसले धेरै फरक पार्दोरहेछ । यस्तो व्यवहारले त छिमेकी हुनुको नातासम्बन्धै मार्दोरहेछ । 

०



21 May, 2026

सम्पादकीय (मगरातका छोरीहरू)

सन् २०२४ को सुरुआतमै मैले यो लेखनको थालनी गरेको थिएँ । दुई वर्ष भएछ यो लेखेर राखेको । प्रकाशित हुने अवसर भने बल्ल आएको छ ।

म आफ्नो समुदायको कथा लेख्ने सोचमा थिएँ । हाम्रो समुदायभित्र लेख्नुपर्ने यति धेरै सामग्रीहरू छन् कि ती सबै लेखिसक्दा एक विशाल पुस्तकालय बन्न सक्छ । तर, कमै लेखिएका छन् । एक त, हाम्रो समुदायमा लेख्नुपर्ने विषय लाखौँ छन् र कलम चलाउने लेखकहरू एकदमै कम छौँ । सबैले सबै विषयमा लेख्न सक्ने क्षमता कसैसँग हुन्न, हामी सँग पनि छैन । अर्को कुरा, अरू समुदायका लेखकले हाम्रो समुदायको विषय लेख्न गाह्रो छ । हाम्रो या कसैको समुदायभित्रको कुनै पनि विषयमा लेख्न त्यो समुदायको भूगोल, बसोबास, संस्कार संस्कृति, भाषा र वेशभूषा बुझेर मात्रै चल्दैन । कुनै पनि समुदायको आफ्नो मनोविज्ञान हुन्छ । यो झनै महत्वपूर्ण विषय हो । समुदायको आम प्रवृत्ति र मनोविज्ञानको अध्ययन नगरी केही लेख्न सकिन्छ भन्ने मलाई लाग्दैन । यिनै कारणले हाम्र्रा गहन विषयहरू लेखोटका रुपमा बाहिर आउन नसकिरहेको अवस्था छ । अर्को दुःखको कुरा, अनुसन्धान गरिरहेका, लेखिरहेका र प्राज्ञिक कर्म गरिरहेका मगर विज्ञ, लेखक र प्राज्ञहरू पनि हाम्रो समुदायले जन्माइरहेको त छ, तर पाठकहरू भने निकै नै कम छौँ । कम पनि छौँ र कमजोर पनि । आजसम्म लेखिएका गहन विषयवस्तुका पुस्तक हामीले पढ्न नै अल्छी गरिरहेका छौँ । ती पुस्तकसम्बन्धी मिहीन अध्ययन गर्न, त्यसमाथि धारणा बनाउन र त्यसको सत्यतथ्य पर्गेल्न र अभ्यास गर्न त झनै टाढाको कुरा भएको छ । उता आफ्नै (मातृ) भाषामा लेख्ने र पढ्ने लेखक तथा पाठकको पीडा योभन्दा बढी गहिरो छ । पढ्ने, चिन्तन मनन र बहस पैरवी गर्ने समय हामीसँग छैन । भएको समयमा पनि अरू काममा व्यस्त छौँ वा हुनुपर्ने बाध्यता पनि छ । एकाग्रतामा बल दिनुपर्ने हाम्रो मस्तिष्कमा प्रविधिको चरम विकासले गर्दा सही÷गलत सुचनाको भेलबाढी यस्तरी पसिरहेको छ कि त्यो सङ्लिने अवस्था तत्काल देखिँदैन । बरु त्यसले हाम्रो चेतनाको तहलाई क्षय गर्दै लगेको छ । यस्तो अवस्थामा लेखन÷पठनको संस्कृति राम्रोसँग स्थापित नभइकनै धरापमा परेको छ भन्न मन लाग्छ । कुनै पनि समुदायलाई उँभो लगाउने भरपर्दो माध्यम नै लेखन÷पठन हो । यही माध्यम नै संकटमा परेपछि हाम्रो समुदाय पनि दिनदिनै उँधो गतितर्फ ओर्लनुपरिरहेको अवस्था अत्यन्तै सोचनीय छ । 

हाम्रो समुदायमा यति धेरै सुधार गर्नुपर्ने विषय छन् कि त्यसमाथि पनि सयौँ किताब लेख्न सकिन्छ । हजारौँ श्रव्यदृश्यका सामग्री निर्माण गर्न सकिन्छ । समुदायलाई अगाडि बढाउनका लागि हामीमा भएका नकारात्मक पक्षकाबारेमा चर्चा परिचर्चा हुनेछ र हुनु पनि पर्नेछ तर, त्यसभन्दा अघि हामीसँग भएका सकारात्मक पक्षलाई सबैका सामु ल्याउनुपर्ने खाँचो छ । हाम्रा सबल कुराको प्रचारप्रसार हुन जरुरी छ । हामीले कमाएको आत्मसम्मानको कथा सबैलाई सुनाउनु जरुरी छ । यो किताब लेख्नुको उद्देश्य यो पनि एउटा हो । 

नेपाली समाज र आफ्नो समुदायलाई यथेष्ट योगदान दिएर आफूलाई स्थापित गराएका र कतै गुमनाम समेत भएका मगर महिलाका बारेमा कमै चासो र कुराकानी हुने गरेको छ । यस्तै कम महत्व बनेका अथवा बनाइएका विषयउपर लेख्ने मेरो इच्छा थियो । त्यही इच्छाले घचेट्दै यति काम गर्न लगायो । तर, लेखिसकेको लामो समयपछि पनि यसले प्रकाशित हुन पाएन । ल्यापटपको स्क्रीनमा लेख्दै मेट्दै गरिरहेँ । पछिल्लो समय त आफूले लेखिसकेका पंक्तिहरूलाई नै अद्यावधिक गर्नुपर्ने अवस्था आयो । किनभने दुई वर्षको अवधि धेरै लामो हो र यति लामो समयमा नेपाली समाजमा थुप्रै उथलपुथल र फेरबदल भइसकेको छ । यसबाट हाम्रो समुदाय पनि बाँकी रहने कुरै भएन । 

यस पुस्तकमा जति जनाको संक्षिप्त परिचय समेट्न सकेँ, मलाई लाग्छ कि उहाँहरूका बारेमा लेख्ने नै हो भने प्रत्येकको एक सिंगो किताब बन्न सक्छ । एउटै व्यक्तिका बारेमा विभिन्न कोणबाट लेख्ने हो भने एकभन्दा बढी किताब पनि बन्न सक्छ । यतातिर हातमा कलम हुनेहरूले ध्यान दिए हुन्थ्यो भन्ने पनि लाग्छ । 

यो किताब मैले (मात्र) लेखेँ भन्दिनँ । यसमा समावेश भएका सामग्री थुप्रै पत्रपत्रिका र अनलाइनमा प्रकाशित भइसकेका हुन् । तिनलाई एकै ठाउँमा सङ्कलन र सम्पादन गर्ने काम मात्रै मैले गरेँ । यसर्थ म ती सबै सञ्चारमाध्यमलाई धन्यवाद दिन चाहन्छु । यसका साथै जहाँ–जहाँबाट फोटोहरू साभार गरेँ, ती सबैप्रति पनि आभार व्यक्त गर्दछु । सम्पादकीय भूमिका रहे पनि त्यसको मानक या कसीलाई पछ्याउन (समयाभाव या अध्ययनको सीमाका कारण) नसकेकोमा भने आफैप्रति खेद प्रकट गर्दछु । 

यस परिचयात्मक पुस्तक (पुस्तिका भने हुन्छ) पहिलो संस्करण हो र समेट्नुपर्ने सबैलाई क्रमशः अन्य संस्करणमा थप्दै र परिमार्जन गर्दै जाने वाचा गर्दछु । 

यो किताब पूरा भइसकेपछि विषयक्रम मिलाउन मलाई असाध्यै गाह्रो भयो । एउटै उपाय रह्यो, पहिलो नामअनुसारको वर्णानुक्रममा मिलाउने । मैले त्यही गरेको छु । यसलाई कसैले अन्यथा लिनुहुने छैन भन्ने विश्वास पनि लिएको छु । त्यसैगरि अर्को समस्या सर्वनाम प्रयोगमा भोगेँ । यहाँ समावेश सबैजना मेरो दृष्टिमा अत्यन्तै आदरणीय हुनुहुन्छ । सबैलाई म बराबर आदर सम्मान गर्दछु । तथापि मैले नेपाली मिडियाले चलनचल्तीमा ल्याइरहेको तरिका प्रयोग गरेको छु । यसबाट पर्न गएको असुविधाप्रति पनि क्षमायाचना गर्दछु । 

लेखनका लागि लामो समय लगाइएको भएपनि प्रकाशनको समयमा केही हतार भएको छ । यहाँ धेरै कमीकमजोरी पक्कै छन् । आउँदा दिनमा सच्याउँदै जानेछु । विद्वान पाठकले एक मौकाका साथै रचनात्मक सल्लाह र सुझाव पनि दिनुहुनेछ भन्ने सधैं अपेक्षा रहनेछ ।


जेबी दर्लामी 

Featured Post

बन्दी र चन्द्रागिरि

सायद यो खुसीको प्रफुल्लित क्षण दिनप्रतिदिन गिरफ्तार भएर हराइरहेका आफन्तहरूको उदास स्मृतिजस्तै भोलि विस्मृतिको धूमिल बिम्ब पनि हुन सक्छ विजयक...