१८ बैशाख २०८१, मंगलबार
काठमाडौँ– लेखक जेबी दर्लामीले हालै मात्र नेपालय पब्लिकेशन मार्फत आफ्नो पछिल्लो उपन्यास ‘मारीखोलाको ढुंगो’लाई पाठकमाझ पस्किएका छन् ।
आफ्नो कृतिलाई साहित्यप्रेमीमाझ छोडेर उनी आफ्नै थातथलो बुटवलतिर फर्किसकेका छन् । लेखक दर्लामीका अनुसार ‘मारीखोलाको ढुंगो’ युद्धको त्रासदी बोकेको एक योद्धाको आँखाले देखेको समाजको कथा हो ।
जनयुद्धका नाममा अनेक सपना बोकेर युद्धमा होमिएकाको सपना कसरी बिथोलियो? बिथोलिएका सपना बोकेर बाँचेका ती योद्धा र युद्ध हाँकेकाहरुले उनीहरुलाई कुन रुपमा किनारा लगाए भन्ने कथालाई उपन्यासले छिचोल्ने प्रयत्न गरेको छ ।
‘मारीखोलाको ढुंगो सिंगो युद्धको प्रवृत्ति होइन, एक जना योद्धाका रुपमा उभिएको पात्रको भोगाइ हो, जहाँ रहरले होइन, बाध्यता र विवशताले युद्धमा होमिएकाहरुको सपना बिथोलिएपछिका कथा क्रमलाई समेटिएको छ,’ दर्लामी भन्छन् ।
उपन्यासमा माओवादी जनयुद्धको दश वर्षे समय क्रमका भोगाइहरु चित्रित छन् ।
वि.सं. २०५९ साल भदौ २३ गतेको दिन जेबीको स्मरणमा अझै पनि ताजै छ । तत्कालीन माओवादी विद्रोहीले एकाएक आक्रमण गरी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क कब्जामा लिएको थियो ।
राज्य र विद्रोही पक्षको भीषण युद्धले सदरमुकाम ध्वस्त भयो । त्यो दिन उनी कामकै सिलसिलामा सदरमुकाम (सन्धिखर्क) पुगेका थिए ।
त्यसको करीब चार वर्षपछि वि. सं. २०६३ मंसिर ५ गते माओवादी शान्ति प्रक्रियामा आएर मूलधारको राजनीतिमा प्रवेश गर्यो । त्यसपछि २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलका रुपमा उदायो ।
उत्पीडन, दलन र शोषणको विरुद्ध सीमान्तकृत वर्गका लागि भनेर उदाएको दलले आफूले हिँडेको बाटो मोडिदियो । त्यसपछि मुक्तिको बाटोमा हिँडेका हजारौं योद्धाहरुको सपना बिथोलियो र सबै तितरबितर भए ।
त्यसलाई नजिकैबाट नियालिरहेका दर्लामीको जनयुद्ध र जनयोद्धाको अवस्थाले मनमा हिर्काएर विचलित बनायो । जसरी युद्धमा लडेका योद्धाहरु अलपत्र भए, देशको स्थिति पनि त्यसरी नै जान थाल्यो ।
त्यही भीडमा उनले देखे, ‘कमरेड अलपत्र ।’
युद्धको त्रासदीले उथलपुथल पारेको त्यही कमरेडको सपना, जीवन र आकाङ्क्षाहरु लेख्दालेख्दै उपन्यासका रुपमा ‘मारीखोलाको ढुंगो’ जन्मियो ।
उपन्यासकै खाकाका रुपमा भने उनले कोरोना महामारीको पहिलो लकडाउनमै लेख्न शुरु गरेका थिए । आफूले देखे/भोगेका पात्रहरुबारे अक्षरमा उतार्न उनलाई त्यति कठिन भएन । युद्धमा होमिएका नजिकका साथीभाइहरुको दिनचर्यालाई उनले नियालेका थिए ।
राजनीति फाँट र अन्य गतिविधिमा जोडिने सिलसिलामा जनयुद्धलाई समेत उनले देखे/भोगेका थिए । त्यही परिवेशहरुमा केन्द्रित रहेर उनले आफ्नो लेखनलाई निरन्तरता दिए । आफ्नो पछिल्लो कृतिलाई नेपालय पब्लिकेशनको दैलोबाट पर्दार्पण गर्छु भन्ने उनको अर्को मनोकाङ्क्षा थियो ।
जनयुद्धकालीन त्यो परिवेशलाई २२ हजार शब्दमा उनेर ‘नेपालय’ (प्रकाशक) पुगेका उनको मनोकाङ्क्षालाई पब्लिकेशनले सहर्ष स्वीकार गर्यो ।
त्यसपश्चात् नै थप परिमार्जनसहित ३२ हजार शब्दमा उनका शब्दहरुले ‘मारीखोलाको ढुंगो’को रुप लियो ।
उपन्यासबारे समीक्षात्मक हिसाबमा टिकाटिप्पणी होला या नहोला त्यो भोलिको समयले बताउला । तथापि दर्लामी भने नेपालयबाट आफ्नो पछिल्लो कृति सार्वजनिक हुँदा खुसी छन् ।
यसअघि उनका दुई उपन्यासहरु यात्री (२०७४) र नुरी (२०७५) मा क्रमशः लिपि बुक्स र सांग्रिला पब्लिकेशनबाट प्रकाशित भएका हुन् । उनको ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक समेत प्रकाशित छ । तीन वटा पुस्तक प्रकाशित भए पनि राजधानीमा आफू नयाँ लेखककै स्तरमा रहेको उनलाई लाग्छ ।
आम पाठकमाझ नचिनिएका लेखकलाई राजधानीमा आएर पुस्तक सार्वजनिक गर्न पाउनु नै ठूलो कुरा रहेको उनले सुनाए ।
नयाँ लेखकलाई कृति तयार पार्नभन्दा पाठकमाझ पुर्याउन बेहोर्नुपर्ने कठिनताको अनुभव उनले लिएका छन् । पहिलो उपन्यास ‘यात्री’ लागि एउटा पब्लिकेशनले उनको २५ हजार रुपैयाँ लिएर पुस्तक नै प्रकाशन गरिदिएन । जुन समूहले आजसम्म पनि दुःख दिइरहेको उनले गुनासो गरे ।
नेतृत्वलाई जवाफदेही बनाउन युद्धका विषयमा साहित्य सिर्जना अझै हुनुपर्छ भन्ने उनलाई लाग्छ । उनले टिपेका कमरेड अलपत्र जस्ता हजारौं कमरेडहरुको कथा लेखिन बाँकी रहेको उनी सुनाउँछन् ।
‘मैले त एकजनाको कथा प्रतिनिधिका रुपमा लेखेको मात्र हो, युद्धमा वीरगति पाएका, बेपत्ता र घाइते भएर बाँचिरहेका हजारौँ योद्धाहरु छन्, ती प्रत्येकबाट एउटा कथा आउँछन्,’ उनी भन्छन् ।
उनका अनुसार युद्ध साहित्य भनेको केवल साहित्यमा आएका फगत सिर्जना मात्र होइनन् । देशको इतिहास बताउने दस्तावेज पनि हो । त्यसकारण यसलाई अभिलेखीकरण गर्न भए पनि धेरै भन्दा धेरै युद्धका कुरा लेखनमा आउनुपर्ने उनको बुझाइ छ ।
युद्धमा लडेकाहरु अहिले अर्को सपना बोकेर कोही परदेश त कोही अर्कै विचारधारा लिएर राजनीतितिरै रुमलिरहेको उनी देख्छन् । उनीहरुको वर्तमानकालीन अवस्थाले जेबीको मन घरिघरि पिरोलिन्छ । साहित्यमार्फत नै ती योद्धाहरुको भावलाई पोखेर सम्मान प्रकट गरेकोमा उनलाई केही सन्तोष मिलेको छ ।
यसरी नै छुटेकाहरुको कथा लेखेर नै गन्तव्यसम्म पुग्छु भन्ने उनको मनले भन्छ । प्रत्येक लेखकसँग आ–आफ्नै विचार धारा र शैली हुन्छन् भन्ने कुरामा उनी दृढ छन् । त्यसैले पनि त्यस्ता कथा आफ्नै शैलीमा भन्न पनि उनलाई लेखिरहन्छु भन्ने लाग्छ ।
आफ्नो कुरा अरुले लेखिदिएमा केही छुट्ला कि भन्ने उनलाई त्रास छ । जसरी पूर्वका किराँती समुदायदेखि तामाङ समुदायका कुराहरु आख्यान, नाटक जस्ता विधामा आइरहेका छन्, त्यसरी नै मगरात क्षेत्रलाई लेखनमा ल्याउने उनको सपना छ ।
उनी थप्छन्, ‘साहित्य लेखनमा मगरात क्षेत्र छुटेका छन्, यहाँको कुरा मैले नै लेख्नुपर्छ र भन्नुपर्छ भन्ने मलाई लाग्छ ।’
यसरी आउने लेखनमा मनोविज्ञान र साहित्यको दृष्टिकोण नै अलग हुने उनको भनाइ छ । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल आदिवासी जनजाति चलचित्र महासंघका समेत उनी प्रदेश महासचिव हुन् ।
महेन्द्र राजमार्गबाट थोरै दुरी टाढा भएर पनि न्यूनतम पूर्वाधारबाट समेत हालसम्म वञ्चित भएको उनको जन्मभूमि अर्घाखाँचीको सिद्धाराका अभावलाई साहित्यमा मात्र नभएर फिल्ममा ल्याउने समेत उनको सपना छ ।
यी सबै कुरालाई हिसाबकिताब गर्दा फेरि उही जीविकोपार्जनका कुरा उनको अगाडि आइदिन्छ । जसोतसो जेनतेन गरेरै भए पनि पूर्णकालीन लेखक हुन्छु नै भन्ने उनको हृदयले भन्छ ।
https://joynepal.com/2024/04/29614/