जेबी दर्लामी
सन् २०१२ तिरको कुरा हो यो ।
मलेसियामा रहेर बसेर केही लेखिरहेका नेपाली लेखकका किताब खोजेर किन्ने पढ्ने क्रममा मनि राई ‘गोठाले’को कथासङ्ग्रह ‘युद्ध समाधि’ हातमा परेको थियो । जम्मा १६ वटा कथाहरू समेटिएको यस सङ्ग्रहका अधिकांश कथाका अधिकांश प्रसङ्ग मैले बुझिनँ । बुझ्दै बुझिनँ । मैले नबुझ्दैमा ती कथा नबुझिने खालका हुन् भन्ने चाहिँ होइन र तपाईंले पनि बुझ्नुहुन्न भन्ने पनि होइन । तर त्यही सङ्ग्रहमा रहेको ‘दिलासाका सिरिञ्जहरू’ शीर्षकको कथाले भने मलाई भित्रै तहमा छोयो । मैले पटक–पटक पढेँ यो कथालाई । कथाभन्दा कुनै भावुक संस्मरणझैँ लाग्ने यो कथा मलाई यति धेरै मन प¥यो कि आफ्नै तालमा रेकर्ड गरी थुप्रै रात सुन्दै निदाएको थिएँ ।
कथाको सार यस्तो छ :
बर्मा (म्यानमार) बाट एउटी युवती आफ्नो पिता जन्मेको भूमिको खोजीमा नेपाल आउँछे । उसको नाम हो थिरी । उसको भेट लेखक (म पात्र) सँग धरानमा हुन्छ । त्यसले ठेगाना लेखिएको कागज देखाउँछे । किरिङमिरिङ देखिने बर्मेली लिपिमा त्यो लेखिएको हुन्छ । अँग्रेजीमा उल्था गर्दा त्यो ठेगाना नाम्जाङ, धनकुटाको हुन्छ । तर, ठ्याक्कै कुन गाउँ केही थाहा हुँदैन । थिरी आफ्नो पितृभूमिमा त पुग्छे तर गाउँघर पत्ता लाग्दैन । हरेस खाएर ऊ यत्तिकै आफ्नो देश फर्कन्छे, बर्मा ।
पछि म पात्रलाई निमन्त्रणा आउँछ थिरीको । ऊ बर्मा पुग्छ र थाहा पाउँछ, थिरी उम्कनै नसक्नेगरी लागुपदार्थको लती भएकी हुन्छे । उसको केटा साथी इनवाले उसलाई लगभग छाडिसकेको हुन्छ । म पात्रको कविताको मर्मलाई थिरीले भायोलिनमा स्वर दिएर बजाउँछे । सारै राम्ररी भायोलिन बजाउँछे थिरी । एकप्रकारको आत्मीयता झाङ्गिदै जान्छ, म पात्र र थिरीबीच । उनीहरू माछा मार्न ईररावदी नदीमा सँगै जान्छन् । सँगै बस्छन्, घुमघाम गर्छन् । उसलाई नेपाल ल्याएर आउने र कुनै सुधारकेन्द्रमा केही समय राख्ने म पात्रको इच्छालाई थिरीले हाँसेर टारिदिन्छे । म पात्र एक्लै फर्कन्छ बर्माबाट । अनि कथा सकिन्छ । कथा सकिन्छ तर थिरीको आगत के भयो ? भन्ने उत्सुकताले पाठकलाई कहिल्यै छाड्दैन ।
त्यही उत्सुकता बोकेर म पनि १२ वर्ष हिँडिरहेँ । थिरीको त्यो पातलो शरीर कहिलेकाहीँ मेरो अगाडि उभिन्थ्यो । लागुपदार्थले सुकेको त्यो ज्यान । ती स्याना पाखुरा कन्याइरहेकी ।
थिरीको पातलो ज्यान, फुक्काफाल व्यवहार र जीवन जगतप्रतिको उसको साक्षी भावले पाठकलाई तरङ्गित गराइरहन्छ । के थिरी वास्तविक पात्र हो ? हो भने ऊ ज्यूँदै होली ? या दुव्र्यसनको दलदलमा भासिएर उसको मृत्यु भइसक्यो ? पाठकको मनमा यसप्रकारका प्रश्नले अवश्यै पिरोल्छन् । मलाई पनि यस्तै भएको थियो । ड्रग भरेको सिरिञ्जले घोँच्दाघोँच्दा अब उसको हातमा यति सानो सिरिञ्जको टुप्पो अटाउने ठाउँ पनि बाँकी छैन । यो कुरा थिरी आफैले स्वीकार गर्छे । के कारण ऊ यस्तो दुव्र्यसनमा परी ? के कारण ऊ आफ्नै जीवनसँग यति धेरै कठोर हुन सकी ? के कारण उसलाई बाँच्न मन छैन ? यी प्रश्नहरूले मलाई कयौं दिन कयौं रातसम्म उठक बैठक गराइरहे ।
सोंचेको थिएँ कुनै दिन लेखकसँग भेट हुँदा यो कथाका बारेमा अवश्य सोधूँला । एक दिन त्यो मौका जुरेको पनि थियो, मलेसियामा । क्वालालम्पुरको होटल गोर्खामा कथाका लेखक मनि राई ‘गोठाले’सित भेट हुन पाइएको थियो । आदिवासी जनजाति महासंघ, मलेसिया शाखाले राखेको एक कार्यक्रममा दाइ र म अतिथिका रुपमा निमन्त्रित थियौँ । कार्यक्रमपछि हामीले भेटघाट ग¥यौँ । दाइसँग केही मान्छेहरू पालैपालो आए । त्यसपछि टेबुलमा बियर र सितनहरू आए । अनि त मैले मनभरि सँगालेर ल्याएका प्रश्न जस्ताकोतस्तै फर्काएर आएँ । केही पनि सोध्न सकिनँ यस विषयमा । के भयो भयो, मनको कुरा मनमै रह्यो ।
मलेसियामा मनि राई ‘गोठाले’ कुनै अचिनारु नाम थिएन । त्यहाँ बितरण हुने करिब आधा दर्जन नेपाली साप्ताहिकमध्ये कुनै न कुनैमा प्रायः उहाँको कार्टून प्रकाशित हुनेगर्दथ्यो । मलेसियाले कामदार विजा दिनुभन्दा धेरै अघि नै त्यहाँ पुग्नुभएका मनि दाइ सबै नेपालीका अभिभावक हुनुहुन्थ्यो । अझ साहित्य लेख्ने पढ्नेहरूले त उहाँलाई त्यो विरानो भूमिमा मियो नै मान्ने गरेका थिए । उहाँ हामी सबैको मनि दाइ हुनुहुन्थ्यो ।
त्यसपछि सन् ’१४ तिर एक्काईस वर्षको प्रवास बसाईंपछि दाइ नेपाल फर्किनुभो । म पनि ’१७ मा स्वदेश आएँ । जीवनमा अनेक घटना परिघटना भए । हामीले एकअर्कालाई भेट्न त के फोनमा कुरा पनि गर्न सकेनौँ । दाइ आफ्नै संसारमा व्यस्त, म आफ्नै दुनियाँमा हराएँ ।
तर, यसपाली दाइसँग भेट्ने सुअवसर प्राप्त भयो करिब १२ वर्षपछि । मेरो नयाँ उपन्यास ‘मारीखोलाको ढुङ्गो’ प्रकाशनपछि ताराजी र मैले एकपटक देश भ्रमण गर्ने योजना बनायौँ । मेची महाकाली उपन्यास लिएर हिँड्ने हाम्रो इच्छा थियो । किताब बेच्नुभन्दा पनि नयाँ साथीहरूसँग परिचय स्थापित गर्ने र पुरानासँग सम्बन्ध नवीकरण गर्ने भन्ने थियो । किताब त नेपाञ्लयले प्रकाशित गरेको थियो । हामीले झोलामा बोकेर हिँड्न कुनै बाध्यता थिएन ।
बुटवल, भैरहवा र अर्घाखाँची (सन्धिखर्क) मा ‘मारीखोलाको ढुङ्गो’को विमर्श भव्यताका साथ सम्पन्न भइसकेका थिए । २०८१ जेठ १२ र १३ गते गोरखामा भएको नेपाल मगर सङ्घको राष्ट्रिय सम्मेलनमा भाग लिएपछि हामी दुईजना बुटवल फर्केनौँ । उतैबाट पूर्व हान्नियौँ । १४ गते गोरखाबाट एघार बजेतिर हिँडेको हामी बर्दिबास बास बस्न पुग्यौँ । अर्को दिन घुमफिर गर्दै इटहरी गइबस्यौँ । १६ गते दमकमा स–सानो कार्यक्रमपछि बिर्तामोडमा बसाई भयो । १७ गते बिर्तामोडमा वरिष्ठ गीतकार शिवशङ्कर थापाको प्रमुख आतिथ्यतामा उपन्यासबारे परिचयात्मक कार्यक्रम सम्पन्न गरेर हामी धरान बास बस्न पुगेका थियौँ । धरानमा कार्यक्रमको सबै संयोजन मनि राई ‘गोठाले’ दाइले गर्नुभएको थियो ।
साँझ धरानको एक होटलमा दाइले हामीलाई आत्मीयतापूर्वक स्वागत गर्नुभयो । १२ वर्षपछि सशरीर पुनः एकअर्कालाई देख्न भेट्न पाएर हामी दाइ भाइ दुवैलाई खुसी लागेको थियो । बेहद खुसी । हामीले पुराना कुरा कोट्यायौँ । ‘नुरी’ उपन्यासमा राख्न भनेर दाइलाई भूमिका लेखाएको थिएँ मैले तर प्रकाशन गर्दा त्यसलाई राख्न सकिएन । कारण, दाइलाई पढ्न दिँदा त्यो ११ वटा लामा कथाहरूको सिलसिला थियो । कथावस्तु एउटै तर हरेक कथा आफैंमा स्वतन्त्र थिए । जुनसुकै कथा पढेपनि फरक नपर्ने । सुरुको पानाबाट मिलाएर पढ्नै नपर्ने । त्यो खालको लेखन नयाँ हुन्छ कि भनेर पनि सोंचेको थिएँ । तर पुनर्लेखन गर्दा ‘नुरी’ एक उपन्यासको रुपमा आयो । दाइले लेखेको भूमिका असान्दर्भिक हुने लागेर त्यसमा राखिएन ।
जेठ १८ गते बिहानै दाइले आफ्नो घरमा बोलाउनुभयो । धनकुटा रोडमा रहेछ घर । वरिपरि विभिन्न बोटबिरुवाको हरियालीले घेरेको ठाउँ । भाउजू विमला राईले फरासिलो व्यवहारका साथ हामीलाई स्वागत गर्नुभयो । चिया नास्तापछि भाउजू र ताराजी उता दुःखम्सुखम्मा व्यस्त हुँदा यता दाइ र म मलेसियालाई सम्झेर नोस्टाल्जिक भयौँ । दाइले मसँग भएको भेटको तिथिमिति सप्पै भुलिसक्नु भएछ । म पनि अल्मलिएँ । दाइ भन्नुहुन्छ, ‘हाम्रो भेट भएको थियो सन् २००८ मा । क्वालालम्पुरको नेपाली होटल द गोर्खामा ।’ म भन्छु, ‘हाम्रो भेट सन् २०१४ तिर होला भएको, गोर्खा होइन होटल लोजिनामा ।’ पछि म विश्वस्त हुन्छु, होटल चाहिँ दाइले ठिकै सम्झनुभयो तर, तारिखचाहिँ होइन । पछि बुटवल फर्केर मैले आफ्ना पुराना डायरी खोतलखातल पारेँ । सन् २०१५ को मार्च २२ मा मैले लेखेको डायरीको पाना फेला प¥यो । त्यस दिन नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया शाखाले एक कार्यक्रम गरेको रहेछ । क्वालालम्पुरकै भूभागमा पर्ने बाङसार भन्ने ठाउँमा । नेपालबाट ज्ञानेन्द्र पुनमगर (अहिले नेपाल मगर संघ, केन्द्रीय समिति अध्यक्ष) लाई प्रमुख अतिथिका रुपमा आएका रहेछन् । उनी त्यतिबेला आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष थिए । मलाई पनि अतिथिको रुपमा बोलाइएको थियो । अतिथिका तर्फबाट सम्बोधन चाहिँ मनि दाइले गर्नुभएको रहेछ । त्यो पनि डायरी हेर्दा खुल्यो । त्यही दिन रहेछ दाइसित भेट भएको । पहिलोपटक ।
थुप्रै सम्झनाहरू थिए दाइको मनमा मलेसियासँग जोडिएका । २१ वर्ष निरन्तर रुपमा त्यो देशमा बस्नु । अवैधानिक रुपमा त्यो पनि । उतिबेलैको भेटमा दाइले भन्नुभएको थियो, ‘मलाई त मलेसियन मूलको चाइनीज भन्ठानेर यहाँको प्रहरीले पनि समात्न सक्दैन ।’ मेरो पनि यस्तै अनुभव थियो । मेरो अनुहार चाहिँ मलेजस्तो भएर कहिल्यै प्रहरीको चेकजाँचमा परिनँ । दुईपटक गरेर साढे ६ वर्ष बस्दा पनि । एकदुईपटक हूलमूलमा मात्रै त्यसखालको चेकिङमा परेको थिएँ ।
अनि मैले कुरा उठाएँ, दाइको कथासङ्ग्रहको । ‘युद्धसमाधि’को । त्यस सङ्ग्रहको कुरा उठ्दा स्वाभाविकै थिरीको कुरा चल्ने नै भयो । मैले सोधेँ,
‘थिरी के वास्तविक पात्र हो ?’
मनि दाइको अनुहार मलिन भयो । उहाँले भन्नुभो, ‘हो, ऊ वास्तविक पात्र हो ।’
त्यसपछि दाइले थिरीको कथा सुनाउनुभयो,
विक्रम सम्वत् २०४० तिरको कुरा हो । एउटी बर्मेली ठिटी धरान आइपुगी । साथमा उसले आफ्नो केटा साथीलाई पनि ल्याएकी थिई । केटीको नाम थिरी, केटाको चाहिँ इनवा । थिरीको पिताको घर धनकुटा थियो । उनी जवान अवस्थामा बर्मा पुगे । उतै बर्मेली केटीसँग बिहे गरे । सन्तानका रुपमा दुई बहिनी छोरी जन्मिए, थिरी र मार्ला । त्यसपछि उनी उतै मरे । नेपाली बस्ती जिनकाइटको नजिकै घर पर्ने भएका कारण अलि–अलि नेपाली भाषा पनि जानेकी थिई थिरीले । आफ्नो पिताको जन्मभूमि देख्ने उत्कट इच्छाले उसलाई डो¥याएर नेपालसम्म ल्याएको थियो । उसले ठेगाना लेखेको कागज मनि दाइलाई देखाई । थिरीले नै त्यसलाई अँग्रेजीमा अनुवाद पनि गरी । त्यो हुनआयो, नाम्जाङ ३, धनकुटा, नेपाल ।
थिरी र इनवालाई लिएर मनि दाइ धनकुटातिर लाग्नुभएछ । हिलेमा बास भयो । त्यहाँ थिरी र इनवाले ड्रग लिएको प्रसङ्ग त्यो कथामा छ । त्यो पनि सत्य नै रहेछ । उनीहरूले ब्राउन सुगर तानेका रहेछन् । मनि दाइलाई अचम्म लागेछ, उनीहरू लठ्ठिएको देखेर । उनीहरूले दिएको काँचो सुपारी खाएर आफू पनि घण्टौं बेहोश भई सुतेको मनि दाइले बताउनुभयो ।
गाउँघर पत्ता नलागेपछि थिरी निरास भएर आफ्नो देश फर्की । लगत्तै थिरी धरान आई । अप्रत्यासित जस्तो । के–के खोजेर नपाएजस्तो । धरानकै पुरानो निजी स्कूलमा उसले पढाउन थाली । ब्राउन सुगरको लतबाट छुट्कारा पाउने त उसको पनि इच्छा थियो होला । मरे पनि आफ्नो पितृभूमिमै मर्ने उसको रहर थियो होला । अँग्रेजी धेरै राम्रो थियो उसको । क्षमतावान् शिक्षिका थिई ऊ तर समाजमा असल बन्न सकिन । लागुपदार्थको बन्धन तोड्नै नसकेपछि उसलाई यो भूमिमा बसिरहन पनि उचित लागेन होला । छँदाखाँदाको जागिरलाई चटक्कै भुलेर ऊ दोस्रोपटक बर्मा फर्केर गई ।
पछि मनी दाइलाई उनीहरूले बर्मा डाके । त्यतिबेलै मनी दाइलाई लागेको रहेछ, थिरी अब यो ड्रग्सको साङ्लो तोड्न सक्तैन । हुन पनि त्यस्तै भएछ । ब्राउन सुगर तान्दातान्दै थिरीको प्राण सदाका लागि उडेर गयो । उसले आफ्नो पिताको गाउँलाई देख्नै नपाई सदाका लागि आँखा चिम्ली ।
थिरीलाई सम्झेर मनी दाइ केहीबेर गम्भीर हुनुभयो । मलाई पनि उसको दुःखान्त थाहा पाउँदा नरमाइलो लाग्यो । अझै पनि थिरीलाइ चिन्न सकिएन । उसलाई जान्न सकिएन । ऊ लागुपदार्थको दलदलमा गाडिएको त थाहा भयो तर किन त्यसरी गाडिई ? यो प्रश्न भने अझै पनि मेरो मनमा आइरहन्छ । यो कुरा मनी दाइलाई पनि सायद थाहा थिएन । मेरो यो प्रश्नमा मौन धारण गर्नुभएको मनी दाइको अनुहारमा हेरेर यस्तै सोचिरहेँ ।
केही समयको मौनतापछि मनि दाइ बसिरहेको खाटमा उठ्नुभो । किताब राखेको दराजमाथि राखेको भायोलिन केस निकाल्नुभो । त्यसभित्रबाट एउटा पुरानो भायोलिन निस्कियो । त्यही रहेछ थिरीले बजाइरहने भायोलिन । मनि दाइको कवितालाई सुरमा ढालेर उसले बजाएको भायोलिन । त्यो भायोलिन मनि दाइको नाममा थिरीले आफ्नो पितृभूमिलाई चढाएको सायद एउटा सुन्दर उपहार थियो ।
त्यस भायोलिनलाई मेरो हातमा राखिदिनुभयो, मनि राई दाजुले । त्यसलाई धेरैबेर काखमा राखेर मुसारिरहेँ । कतै थिरीले आफ्नो केशमा सिउरिएको केँवराको फूलको बास्नाजस्तो नाकभित्र पसेको महसुुस भयो । त्यतिबेलै ब्राउन सुगरको नमिठो गन्ध पनि नाकमा परेजस्तो महसुस भयो । यस्तो पनि महसुस भयो, थिरीको अतृप्त इच्छाको धमिलो छायाँ यतै कतै हल्लिइरहेको छ ।
०
२०८१ भदौ ३०
(बुटवल)
Aaha kasto man chhuyo
ReplyDelete