जेबी दर्लामी
हिलोमा पनि कमल फक्रिन्छ
मरुभूमिमा पनि त क्याक्टस फुल्छ
जुम्लाको चीसो बतासमा पनि
लहलहाउँदो धानको बाला झुल्छ
तर पनि संसार किन यस्तो बेरङ्गी छ ?
तुँवालोबाट छिरेर पनि
कालो रातलाई चिरेर पनि
घाम त आखिर लागेकै छ
उज्यालो सधै जागेकै छ
तर पनि संसार किन यस्तो अन्धकार छ ?
धरतीमा
उम्रेकै छन् बिरुवाहरू
माटोले मलाई रनभूल्लमा पारेर सधैं हँसाइरहन्छ
ढुङ्गा पचाउन सक्छ यसले
कोमल बिऊहरूलाई जतन गरी बचाइरहन्छ
तर पनि संसारमा किन यस्तो घटीकमी छ ?
झुसिल्कीराहरू पुतली बन्छन्
र जीवनको सुन्दरताको कथा भन्छन्
चैतको हूरी थामिन्छ
साउनको झरी रोकिन्छ
पालुवाहरू हरेक वर्ष पल्हाइरहन्छन्
र अमरत्वको कविता सुनाइरहन्छन्
तर पनि संसार किन यस्तो कुरुप छ ?
संसारलाई यस्तो बनाउनमा
ती मानिसहरूको हात छ साथी,
जसले बलियाहरूको खुट्टा समात्छन्
निर्धाहरूको घाँटी ।
***
No comments:
Post a Comment