Thursday, October 10, 2024

फर्काउन नसकिने एउटा प्रेमको सम्झना

 जेबी दर्लामी 


आज ठिक ७ दिन भयो उसको आवाज सुन्न नपाएको । तर, यस्तो लागिरहन्छ ऊ यतैकतै छे । 

हामीसितै छे । 

पोहोर साल असार महिनामा ऊ काठमाडौंमा भेटिएकी थिई । कुनै गल्लीमा एक्लै बसिरहेको उसलाई भेट्याएर एकजना ड्राइवर काम गर्ने भाइले आफूले जागिर गर्ने अफीसमा लिएर आएछन् । आफूचाहिँ प्रायः गाडीमा डुलिरहनुपर्ने भएकाले यसको रेखदेख गर्न नपाएको पछुतो रहेछ उनलाई । कसैलाई दिन पाए हुन्थ्यो भन्ने लागिरहेको रहेछ मनमा । त्यसै समय ताराजी त्यहाँ पुगेको हुनुपर्ने । ‘एउटा कुकुरको बच्चा छ, घर ल्याउँ ?’ भनेर उहाँले मलाई सोध्नुपर्ने । कुकुर देख्नै मन नपराउने ताराजीको मनमा त्यो करुणा भाव उसकाप्रति कसरी जाग्यो होला ? मलाई आज पनि थाहा छैन । ‘छाउरा होइन छाउरी हो ।’ उहाँको थप भन्ने कुरा । ‘के फरक पर्छ र छाउरा र छाउरीमा ? दुवै बराबर ।’ मैले यस्तै भन्नुपर्ने । कुकुर बिरालोलाई हुरुक्कै माया गर्ने मजस्तो मान्छेलाई धेरै कुरा सोध्नै परेन । यसरी त्यो ३, ४ महिनाकी छाउरीले बुटवल आउने बस चढी । भिडियोकलमा उसको मुखको वरिपरि देखिएको गाढा कालो रङले विशेष आकर्षण गरेको थियो मलाई । 

लगातारको झरीबर्खा र पहिरोका कारण त्यो बसलाई काठमाडौंबाट बुटवल आइपुग्न दुई दिन लाग्यो । यसबीचमा ऊ बसभरिका मान्छेको प्यारी भइछ । सबैलाई भुकिछ । आफूसित भएको गर्भे दाँतले सबैलाई टोकिछ । सबैसित जिस्किछ । सबैको हातहातमा पुगिछ । 

बुटवल चौराहामा लिन गएको थिएँ, अर्को दिनको साँझ । उसलाई उचालेर गाडीमा राख्ने बेलामा मसित पनि खुब झर्कोफर्को गरी । भुकी पनि एकछिन । तीन महिनाको छाउरीको यत्रो ठूलो स्वर ? यत्रो होसियारी ? यत्रो चनाखोपन ? मलाई उसमा केही त छ भन्ने पहिलो भेटमै लागेको थियो । 

हुन पनि ऊ साह्रै ज्याद्रो भएर आई हाम्रो घरमा । अब ऊ छाउरी रहिन । ऊ त अब लुसी, लेसी अनि केके हुँदै लेक्सी भई ।  सानो आवाज कतै सुन्दा पनि कान ठाडा बनाइहाल्ने उसको त्यो आनीबानी समयसँगै बढ्दैगयो । शरिरले त ऊ छाउरी थिई, तर स्वर उसको छाउराकोजस्तो थियो । ठूलो र गहकिलो । स्वभाव पनि उस्तै । उसलाई हात मिलाउने र वासरुमभित्र जाने बानी भने कहिल्यै लगाउन सकिएन । हात दिँदा टोक्थी । दिसापिसाब आउँदा छतमा उक्लन्थी । उसको सुत्ने प्रिय ठाउँ भने म अध्ययन गर्दा बस्ने सोफा र किताबहरूको थुप्रोमुनिको खाली ठाउँ बन्यो । 

जाडो याममा भने ऊ हामीसितै सिरकभित्र घुस्रेर सुती । कहिले डल्लो परेर निदाएकी हुन्थी त कहिले मान्छेजस्तै लम्पसार बनेर । दिउँसोमा उसको ताल–तालका सुताई हुन्थे । केही फोटोमा सुरक्षित छन्, धेरै त छुटे । 


ऊ यहाँ आउने ताका सिँढी चढ्न र झर्न पनि डराउँथी । मैले नै उसलाई सिकाएको थिएँ तलमाथि गर्न । समय बित्दैजाँदा यो घर उसलाई सानो हुन थाल्यो । बाहिर निस्कन पाउँदा रमाउन थाली । तर सधैं बाहिर निकालेर खेल्न दिने समय हुन्थेन । हामीसँग फुर्सद पनि हुन्थेन । ऊ साँगुरो घरको दुई तलामा खुम्चन बाध्य भई । छतमा निस्केर सुकाएका जुत्ता मोजा च्यात्दै आफ्नो उर्जा खपत गर्न विवश भई । झन् पछि त आफ्नो छतबाट छिमेकीको घरको छत हुँदै बाहिर सडकमा आउन पनि सिकी । त्यसलाई रोक्न हामीले छतको पर्खालभरि गमला राख्यौँ र विभिन्न फलफूल लगायौँ । तर पनि उसको वेगलाई थाम्न सकिएन । त्यसपछि छतको ढोका पनि बन्द हुन थाल्यो । 



उसलाई हेरेर बस्ने हामीसित समय थिएन । प्रायः ऊ दिनभर एक्लै हुन्थी घरमा । साँझमा हामी घर पुग्दा ढोकामै झुण्डिन आउँथी र हामीलाई माया गर्थी । हातमा चाट्थी, गालामा पनि । सुस्तरी आवाज निकालेर अपनत्व देखाउँथी । 

कोही विराना मान्छे घर अगाडिको बाटो भएर हिँडेको थाहा पाए गेटमै गएर थर्काउँथी । साइकल डो¥याउँदै व्यापार गर्नेहरूको आवाजलाई आफ्नो आवाजले छपक्कै ढाकिदिन्थी । सानो छँदा त साङ्लो देखे पनि भुक्थी, भित्तामा देखिने स–साना कीरालाई पनि झम्टन जान्थी । पछि–पछि बिराला, मुसा केहीले पनि हाम्रो घरको गेटबाट भित्र चियाउन पनि पाएनन् । कोठाभित्र मस्त निद्रामा हुन्थी, तर बाहिर केहीको छिसिक्क आवाज आउँदा जुरुक्कै उठेर भुक्दै दगुर्थी । 

ऊ हुँदासम्म हामीलाई सुरक्षाको भाव आउँथ्यो मनमा । ऊ यहाँ हुँदासम्म घरमा केही कुराको डर छैन भन्ने लाग्थ्यो । आज ऊ छैन । यो क्रूर सहरमा कता–कता डर लागेको आभास हुन्छ । 

पोहोर साल यसै समयमा उसलाई अर्घाखाँची लिएर गएका थियौँ । पहिलोपटक ऊ यति खुला ठाउँमा पुग्न पाएकी थिई । भालुबाङबाट सिलिङखोलाको ६, ७ किलोमिटरको दूरीमा ऊ हाम्रो अघि–अघि हिँडी । धेरै नै अगाडि पुगेपछि भने फर्केर हामीलाई लिन आउँथी । बाटोमुनि बोटबिरुवाको झ्याङमा कसैले फालेको चाउचाउ र सुर्तीका खाली प्याकेटहरू नदेखेर पनि सुँघेरै पत्ता लगाउँथी । त्यो छोटो समयको यात्रामा प्रकृतिको आनन्द हामीलेभन्दा उसले बढी अनुभव गरी । यात्राको मजा हामीलेभन्दा बढी उसैले उठाई । 

घरमा पुगेपछि उसको ज्याद्रोपनले सीमा नै नाघ्यो । घरमा पालेका कुखुराहरूलाई लखेटेर हाराबारा पारी । खोरमा बसेका बाख्राहरूलाई भुक्नुसम्म भुकी । गोठको पाडोलाई पटक–पटक झम्टी । यति धेरै नयाँ कुरा उसले आफ्नो जीवनमै पहिलोपटक देखेकी थिई । घरी छक्क परी, घरी डराई, घरि आक्रामक बनी ।

त्यहाँबाट फर्केर बुटवल आएपछि उसको आनीबानीमा केही फरक देखियो । पहिलेभन्दा कम चञ्चल । अलि गम्भीर भएजस्तो । जीवनजगतलाई केही न केही फरक तरिकाले बुझी कि लाग्ने ।  

उसलाई सलाद मन पर्ने । भातभन्दा बढी रोटी मन पर्ने । काँक्रा र मासु सँगै दियो भने मासुभन्दा बढी काँक्रा रुचाउने । टेबलमा खुला छाडिराखेको मासु नै भएपनि मुख नलगाउने तर काँक्रा त निकालेरै खाने । स्टोर कोठामा गएर भेटिएजति काँचो कुरा खाइहाल्ने । आलू समेत । उसको यो बानीबेहोरा देखेर हामीलाई रमाइलो लाग्थ्यो । ऊ कुकुर हो भन्ने पनि लाग्न छाडिसकेको थियो । 

यसपटक घर जाँदा पनि हामीले उसलाई लिएर गयौँ । यसपटक भने मन बाँधेर हामीले उसलाई घरमै छाड्ने सल्लाह गरेका थियौँ । बुबाआमासँग पनि सोधिसकेका थियौँ । आमालाई साथी होला भन्ने पनि लागेको थियो । ७ दिन भएछ, उसलाई सिलिङखोला छाडेर हामी बुटवल फर्केको । हिँड्ने बेलामा उसलाई कोठामा थुनेका थियौँ । आँखाभरि आँसु थियो उसको । हामी हिँड्दैछौँ भन्ने उसले अघि नै थाहा पाइसकेकी थिई । झ्यालबाट टाउको निकालेर कराई । 



बाटोमा ताराजी बेस्सरी भक्कानिनुभो । मैले पनि मन थाम्न सकिनँ । कुकुरसित जोडिएका थुप्रै संस्मरण छन् मेरो मनमा । त्यसमा यो पनि एक थपियो । जे भएपनि घरमै छे, आमासित छे भन्ने सोँचेर मन बुझाएका छौँ । अझ बाबाले असाध्यै मन पराउनुहुन्छ कुकुर बिरालोलाई । ऊ त्यही फराकिलो ठाउँमा खुसी हुनेछ भन्ने विश्वास लिएका छौँ । बजारको गुँड त उसलाई उहिल्यै साँगुरो बनिसकेको थियो । 

अहिले आँगनमा आएर कोही बोल्दा कराउँदा लेक्सी किन भुकिन ? भन्ने मनमा आउँछ । ऊ यहाँ छैन भनेर थाहा पाउन एकछिन समय लाग्छ । सात दिनभित्र ४ वटा मुसा स्टोरकोठामा मारिसकेका छौँ । ऊ भएको भए तिनको यत्रो हिम्मत कहाँ हुन्थ्यो ? भन्ने लागिरहन्छ । कहिलेकाहीँ हामी अलि अबेलासम्म सुतेको देखे सिरानीमा आएर भुक्थी । अहिले पनि त्यो आफ्नोपन भरिएको आवाज सुन्न कान तृषित् छन् तर ऊ छैन । हामी यताउताबाट घर फर्कँदा बरण्डाबाट टाउको बाहिर निकालेर हामीलाई नै हेरिरहन्थी । 



अहिले पनि साँझ घर फर्कँदा उसलाई हेर्ने नजर स्वतः त्यतातिर सर्दारहेछन् । मूलढोका खोल्नासाथै आएर लुटुपुटु गर्ने उसको मायालु स्पर्शको अभाव उसैगरी खट्कन्छ । तनाव हुँदा उसलाई छोए मात्रै मन केही हलुका हुन्थ्यो । अब त त्यो भारी बिसाउने मुलायम ठाउँ पनि बाँकी छैन । 























२०८१ असोज २४

(बुटवल) 


No comments:

Post a Comment